जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारमा ‘चार्जसिट’ दायर (विज्ञप्ति)

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। 

आयोगले विहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको जारी विज्ञप्तिमा जनाइएको छ। 

जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९/८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको अख्तियार अनुसन्धानले पत्तो लगाएको थियो।  

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव–इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाइएको छ। 

यस्तो छ अख्तियारले जारी गरेको विज्ञप्ति। 

जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका, वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जलेश्वर नगरपालिकाबाट आ.ब. २०७९/०८० मा संचालित जलेश्वर नगरपालिका वडा नं. १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झाले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा रु.5,84,637/- बढी रकम भुक्तानी गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुर भएकोले निजहरुलाई रु.5,84,637/- बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।

जलेश्वर नगरपालिकाका बरिष्ठ इन्जिनियर पवन कुमार  झा, इन्जिनियर राकेश कुमार चौधरी र स-इन्जिनियर दिपेश कुमार साहले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको भुक्तानी विल तयार एवं भुक्तानी गर्न सिफारिस गरी रु.5,84,637/- बढी रकम भुक्तानी गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुर भएकोले निजहरुलाई रु.5,84,637/- बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै निजहरुले भए गरेका कुरा लुकाई/छिपाई नभए गरेका कुरा देखाई गलत नापी किताब तयार गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

जलेश्वर नगरपालिकाका नगर उप-प्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झाले योजना अनुगमन प्रतिवेदनमार्फत् बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान योजनाको कार्य सन्तोष जनक भएको उल्लेख गरी भए गरेका कुरा लुकाई/छिपाई नभए नगरेका कुरा देखाई गलत प्रतिवेदन दिई उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको कारणबाट रु.5,84,637/- बढी रकम भुक्तानी भएको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवीले  पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्याङ्‍कन गरी/गराई झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता भुक्तानी विल तयार गरी/गराई सोही आधारमा रु.5,84,637/- बढी भुक्तानी लिएको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई रु.5,84,637/- बिगो कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्