सत्ताको दबाबः पञ्चा सिंहसहित ५ जनालाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनालाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले निर्णय गरेको छ। 

प्रमाण पर्याप्त नभएको भन्दै सिंहसहितलाई अदालतले पक्राउ पूर्जी जारी गर्दासमेत मुद्दा नचलाउने निर्णय गरिएको हो। पक्राउ पूर्जी जारी भए पनि सिंहसहितलाई प्रहरीले सोधपुछसम्म गरेको थिएन। 

सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो। 

पुरक जाहेरीमा उल्लेख भएकामध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध चाहिँ १८ वैशाखमा मुद्दा दायर भएको छ।

कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्ल खुकुरी प्रहार गरी हत्या भएको थियो। यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो।

तर सत्तामा रहेको माओवादी केन्द्रको दबाबका कारण मुद्दा नचलाउने निर्णय गराइएको छ। कानुनी राज्य स्थापनामा कसैलाई पनि नछाडिने गृहमन्त्री रवि लामिछानेको भनाई यहाँ पनि फेल खाएको छ। उनी आफैं ‘ट्वाँ’ परेका छन्।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्