बढुवा सिफारिस गरिएका एआईजीबारे मन्त्रिपरिषदमा निर्णय प्रस्ताव नै लग्दैन गृह मन्त्रालय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं– नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय प्रस्ताव मन्त्रिपरिषदमा लैजान गृह मन्त्रालयले आलटाल गरेको छ। यसबाहेक प्रहरी नायव महानिरिक्षक (डीआईजी)बारेको निर्णय पनि हुन सकेको छैन। जबकि, सिफारिस भएको तीन साता बितिसकेको छ। 

बढुवा भएर एआईजीको फूली लगाउनुपर्ने उमेशराज जोशी र भिम ढकाल डीआईजीकै फूलीमा छन्। जोशी प्रहरी प्रशिक्षण प्रतिष्ठान र ढकाल प्रहरी महानिरिक्षकको सचिवालय, प्रहरी प्रवक्ताको जिम्मेवारीमा छन्।

बिहीबार मात्र मन्त्रिपरिषदको बैठक बसेपनि गृहमन्त्रीले बढुवा निर्णयको प्रस्ताव पेश गरेनन्। जबकि प्रहरी सरुवामा भने उनले मनपरी गरिरहेका छन्।  

एआईजी बढुवाको निर्णय नहुनुमा उनीहरुको पदस्थापनसँग जोडेर हेरिएको छ। बढुवा भएकालाई कहाँ पदस्थापन गर्ने भन्ने चिन्ता रहेको बताइन्छ। तर, त्यसमा पनि खासै समस्या नरहेको स्पष्ट नै छ। रिक्त पदमा बढुवा भएकालाई मिरा चौधरी र सन्दीप भण्डारीको स्थानमा नै पदस्थापन गर्न सकिन्छ। 

यद्यपि गृह मन्त्रालयले केही एआईजीका पनि सरुवा प्रस्ताव तयार गरेका कारण हुन नसकेको बताइन्छ। खासगरी सरुवा र पदस्थापनको निर्णय भने मन्त्रिपरिषदले नै गर्दछ।

एआईजी मात्रै होइन वैशाख ३ मा नै प्राविधिक तर्फका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)हरु पनि डीआईजीमा बढुवा सिफारिस भएका थिए। उनीहरुको पनि बढुवाको निर्णय भएको छैन।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्