रविको लोकप्रियताले इलाम–२ मा काम गरेन, सुहाङको गतिसामु मिलनको केही चलेन, ताजा परिणाम

सोमबार, वैशाख १७, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको लोकप्रियताले प्रतिनिधि सभा तर्फको इलाम–२ को उप निर्वाचनमा खासै जादु छर्न सकेन। ३४ हजार मत गणना भईसक्दा रास्वपा उम्मेदवार मिलन लिम्बुले पाएको मतले त्यहि निचोड निस्कन्छ। 

घोक्रो सुकुन्जेल मिलनका लागि मत माग गरेका रविको लोकप्रियता भन्दा हर्क साम्पाङले साथ दिएका स्वतन्त्र उम्मेदवारले बरु राहत महसुस गरेका छन्। पछिल्लो मत परिणामको नतिजाले पनि त्यहि रुझान देखाउँछ। 

बाबुको विरासतमा उभिएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रतामा तिव्र गति लिएका छन्। हालसम्म उनले १४ हजार ६१३ मत ल्याएर आफूलाई बिजयको नजिक नजिकसम्मको दौडमा राखेका छन्। 

अन्तिम परिणाम नआएसम्म केही भन्न नसक्ने स्थिति भए पनि उनले ५३ सयको मतान्तर कायम राखेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्। 

पहिचानवादी मुढा चिन्हबाट मैदानमा रहेका डकेन्द्रसिंह थेगिमले ८ हजार ५७० मत प्राप्त गरेका छन्। तर रास्वपाका मिलन लिम्बु भने भर्खर २०५६ मतमा सीमित रहेका छन्। यो रुझानले इलामेली जनताले पहिचानभन्दा पनि युवा र सुवास नेम्वाङको लोकप्रियतालाई बढी मत दिएको पुष्टि हुन्छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्