सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ - सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले आज दायर गरेको रिट निवेदनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ । उक्त विवादको सुनुवाइ सोमबार हुनेछ ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न यही वैशाख २ गतेसम्म समय दिनुभएको थियो । 

नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित यही  वैशाख १ गते दाबी पेस गर्नुभएको थियोे ।

नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गर्नुभएको थियोे । दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले यही वैशाख ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै थप दुई दिन समय दिनुभएको थियोे ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर गत वैशाख  ६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),  नाउपा (कैलाश चौधरी पक्ष) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभयो ।

प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु गैरकानुनी भएको रिट निवेदनमा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्