क्रिकेटका सिंह

प्रहरीका दीपेन्द्रसिंह ऐरीः विश्व क्रिकेटमा दुई पटक छ बलमा ६ छक्का हान्ने पहिलो र दुर्लभ खेलाडी

आइतबार, वैशाख २, २०८१

काठमाडौं–  एसीसी मेन्स प्रिमियर कपको ओमानमा जारी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले विश्व क्रिकेटमा पहिलो र दुर्लभ रेकर्ड कायम गरेपछि चर्चा चुलिएको छ ।

नेपालमा मात्र नभई क्रिकेटको महारथी भनिएको भारतमा पनि उनको चर्चा कम छैन । उनको प्रदर्शनसँगै भारतीय मिडियाले विश्व क्रिकेटमा नेपाल दर्बिलो उदयका साथ चुनौति बनेर आएको टिप्पणी गरेका छन् ।

नयाँ बर्ष २०८१ को पहिलो दिन अर्थात् शनिबार ऐरीको प्रदर्शन चर्चाका लागि मात्र होइन, अभूतपूर्व ब्याख्याका लागि लायक बन्यो । नेपाली नयाँ बर्षमा नेपाली क्रिकेटले विश्वजगतलाई यो आश्चर्यजनक सन्देश दिएको मानिन्छ । 

ओमानमा कतारसँगको खेलमा १९ ओभरको खेल सकिदाँ नेपालले ७ विकेट खर्चेर १७४ रन बनाएको थियो । त्यसपछि २०औं ओभरको खेलमा ऐरीले चमत्कार नै गरिदिए ।

२४ वर्षिय ऐरी ब्याटिङको लागि तयार अवस्थामा रहेका थिए । त्यसपछि त्यो ओभरमा जे भयो त्यो घटना विश्व नेपाली क्रिकेट इतिहासमा पटक–पटक याद गरिने भएको छ  । 

त्यो ओभरले नेपाली क्रिकेटका खेलाडी पनि विश्व क्रिकेटमा कम छैन् भन्ने प्रमाणित गरेको छ । त्यो क्षेणले नेपाली खेलाडीको नाम भारतका युवराज सिंह, वेस्ट इन्डिजका किरोन पोलार्ड र दक्षिण अफ्रिकाका हर्सेल गिब्ससँगको समान सूची कायम राख्यो । साथै, उनी लगातार ६ बलमा दुई चोटी ६ छक्का हान्ने विश्वको पहिलो क्रिकेट खेलाडी समेत भएका छन् ।

१९ ओभरसम्म १७४ रनमा सीमित भएको नेपाल २० ओभर सकिदा कतारलाई २११ रनको टारगेट दिन सक्षम भयो । ऐरिले २० ओभरको प्रत्येक बलमा छक्का हानेर विश्वलाई आश्चर्यचकित बनाए भने कतारलाई खेलमा स्तब्ध बनाउने ओभर कायम गरिदिए । एकै ओभरमा ६ छक्का हानेका दिपेन्द्र सिंह टी–२० मा ६ छक्का हान्ने तेस्रो खेलाडी भएका छन् ।

ऐरीले कतार विरुद्धको खेलमा कमरन खानको बलिङमा छ छक्का हानेका थिए । यसअघि भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले मात्र एकै ओभरमा ६ छक्का हानेका थिए  । क्रिकेटको सबै फरम्याटमा भने ऐरीले अन्य चारजनासँगै समानता कायम राखी ६ छक्का हान्ने ५ औँ खेलाडीमा नाम लेखाउन सफल भए ।  

यसअघि उनले चिनमा भएको एसिन गेम्समा मंगोलियाविरुद्ध लगातार छ बलमा ६ छक्का हानेका थिए । यो खेलमा उनले ९ बलमा ५२ रन बनाउँदै विश्व क्रिकेट जगतमा तोड्न मुस्किल पर्ने रेकर्ड समेत बनाएका थिए । यो रेकर्डमा समानता कायम गर्न दुर्लभ छ तर तोड्न नसकिने क्रिकेटका महारथीहरूले बताउँदै आएका छन् ।

साथै, नेपाली क्रिकेट टिमले टी–२०मा मंगोलिया विरुद्ध पहिलो पटक ३१४ रन बनाउँदै सबैभन्दा धेरै रनको नयाँ रेकर्ड समेत बनाएको थियो । यो रेकर्ड पनि लगभग तोड्नका लागि मुस्किलसरह छ । 

कतारसँग खेलपछि ऐरीले भनेका छन्, ‘चौथो बलमा छक्का हानेपछि मलाई बाँकी २ बलमा पनि हान्न सक्छु लागेको थियो । एकदमै खुसी लागेको छ । कीर्तिमान बनाउन सकेँ ।  कोचले पनि फिनिसरको रुपमा नै हेर्नुहुन्छ ।’

ऐरी घरेलु मैदानमा भने नेपाल प्रहरीका खेलाडी हुन् । उनले कायम गरेको यो किर्तिमानमा गर्विलो महसुश भएको जनाउँदै नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले शुभकामनासहित धन्यवाद समेत दिएका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्