सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले बनायो छानबिन समिति

मंगलबार, चैत २७, २०८०

काठमाडौँ - सोमबार साँझ चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

छानबिन समितिमा सशस्त्रका प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्