चन्द्र भण्डारी भन्छन्– ओलीले गरेको संसद विघटन प्रतिगमन थिएन, कांग्रेसबाट भूल भयो

आइतबार, चैत २५, २०८०

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०७८ सालमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको बताएका छन्। 

रुपन्देहीमा भएको कार्यक्रममा उनले आइतबार यस्तो भनेका हुन्। ओलीले घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेस सहभागी नभई प्रतिगमन भयो भनेर हिँड्नु भूल भएको भण्डारीको टिप्पणी थियो। 

‘निर्वाचनमा गएको भए नेपाली कांग्रेस र एमालेमात्र ठूला शक्ति हुने थिए’, उनले भने,‘साना दलको आकार यहि नै हुन्थ्यो होला। तर, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पछाडि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत भयो।’

अहिले सरकार बनाउनका लागि धेरैवटा दलको साथ खोजिरहनु परेको सन्दर्भ जोड्दै भण्डारीले भने,‘निर्वाचनमा जानु प्रतिगमन थिएन। कांग्रेस जानु पर्ने थियो।’

ओलीले तत्कालिन नेकपाभित्र समस्या र विवाद चरम चुलीमा पुगेपछि २०७८ साल जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेका थिए। तर त्यो प्रतिगमन भएको भनी नेकपाको अर्को पक्ष प्रचण्ड–माधवकुमार नेपाल सडक आन्दोलनमा गएका थिए। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापनाको फैसला सुनाउनुका साथै नेकपा विभाजन गरी एमाले र माओवादी ब्युँताएको थियो।

यसपछि भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डलगायतका दल लागि परे।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्