गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले भोली राजीनामा दिदै

मंगलबार, चैत २०, २०८०

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उहाँले प्रदेश सभा सचिवालयलाई सूचना दिनुभएन ।

मुख्यमन्त्री पाण्डेले बुधबार राजीनामाको तयारी गर्नुभएको हो । उहाँले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाउनुभएको छ । विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने हुनुभएको हो ।

मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा हुनुहुन्छ । ६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद हुनुहुन्छ । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।

मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्