गुणस्तरीय स्वास्थ्य सेवा दिन चिकित्सकहरुलाई स्वास्थ्य मन्त्री यादवको निर्देशन

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नव निर्मित बर्थिङ्ग सेन्टरको उद्घाटन पश्चात आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य सेवाका लागि हामी सबै प्रतिबद्ध हुनु जरुरी भएको बताउनुभयो । दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरिय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्नुहुँदै उहाँले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी स्थानीयबासीको हो । यहाँका बासिन्दाले अब प्रमाणित गरेर देखाउनु पर्छ ।" मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर, राजविराज र विरगञ्जमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेकोे उल्लेख गर्नुभयो ।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसीमार्फत् भइरहेको विकास निर्माणको कामको चर्चा समेत गर्नुभयो । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले बर्थिङ्ग सेन्टरको निमार्णले यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भन्दै गुणस्तरीय सेवा प्रभाव गर्नका लागि आवश्यक सहयोग गर्न मन्त्रालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो । यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिव ६ करोडको लागतमा निर्मित ७५ बेड्को बर्थिङ्ग सेन्टरको सिलान्यास २०१८ नोभेम्बर १९ मा उपप्रधानमन्त्री यादवले नै गर्नु भएको बताइएको छ । 

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव राय चौधरी, संघिय स्वास्थ्य सचिव रोशन पोखरेल, अमेरिकी राजदुत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डित सहितको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्