महिला सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्छ : मन्त्री चौधरी

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै मन्त्रालयले आधाभन्दा बढी जनसङ्ख्या भएका महिलाको सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ नेपाल, ग्लोबल कम्प्याक्ट नेपाल, युन वुमनलगायतले संयुक्तरूपमा आज आयोजना गरेको ‘लैङ्गिक समानताका लागि रिङ द बेल’ कार्यक्रममा उहाँले महिला आर्थिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि परेको हुँदा सबै मन्त्रालयले बजेट छुट्याउनुपर्ने बताउनुभयो ।

“महिला सशक्तीकरणका लागि मन्त्रालयले ४२ प्रतिशत बजेट छुट्याएको छ”, मन्त्री चौधरीले भन्नुभयो, “५१ दशमलव चार प्रतिशत महिलाको जनसङ्ख्या छ, महिलालाई सबै मन्त्रालयले बजेट छुट्याउन जरुरी छ ।”

उहाँले सात सय ५३ वटै पालिकामा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने र नेपालको संविधान र कानुनले व्यवस्था गरेको हक अधिकारको कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
 
मन्त्री चौधरीले ६९ प्रतिशत साक्षरता दर भएको र अझै साक्षरता दर बढाउनका लागि सबै निकायले ध्यान दिन अनुरोध गर्दै मुलुकको विकास र सामाजिक न्यायका लागि महिलामा लगानी जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा सहभागीले ‘महिलामाथि लगानी गरौँः प्रगतिलाई दु्रतगति प्रदान गरौँ’ भन्ने ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारालाई कार्यान्वयन गर्न सबै निकाय एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्