जनतासँगका प्रतिबद्धता पूरा गर्न एमाले प्रदेश कमिटीको माग

बिहीबार, चैत १५, २०८०

काठमाडौँ -  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।
 
सो कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित १४ बुँदे समसामयिक प्रस्तावमा जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउन वर्तमान गठबन्धन सरकारले लिएको सङ्कल्पलाई साकार पार्न जोड दिइएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट बुधबार उद्घाटित सो बैठकले संस्थागत भ्रष्टाचार र बेथिति अन्त्य गरी सुशासन कायम गर्न पनि आग्रह गरेको सो कमिटीका प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।
 
कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा भएको बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरूको ज्यान समेत गइरहेकाले युद्धग्रस्त देशमा नेपाली युवालाई जानबाट रोक लगाउन, गइसकेका युवालाई अबिलम्ब फिर्ता गर्न, बेपत्ता युवाको खोजी गर्न र युद्धमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न आग्रह गरेको छ ।
     बैठकले युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग माग गर्दै महँगी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन वस्तुको आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ  ।
 
बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्