फिल्म समिक्षा 

अपेक्षाको चीरहरण गर्ने महाजात्रा 

आइतबार, चैत ११, २०८०

काठमाडौं– एउटा भनाई छ– यदि तपाई खराब फिल्म हेर्न जानुहुन्छ भने त्यो दुई घन्टाको हुन्छ। 

म यहाँ यहि सन्दर्भ कोरिरहेको छु चर्चित फिल्म निर्देशन प्रदीप भट्टराईको पछिल्लो सृजना– महाजात्राको। 
यदि तपाई ट्रेलर मात्र हेरेर फिल्म हेर्न जानु हुँदैछ भने तपाई ‘ट्रेलर’ मात्र हेर्नुुस्।

किनभने ट्रेलर र यसका अगाडिका दुई संस्करणको चीरहरण गरेको छ, महाजात्राले।  
पहिला कथामा घोत्लिऔं। 

यो फडिन्द्र (बिपीन कार्की), जोएस (रविन्द्रसिंह बानियाँ) र मुन्ना (रविन्द्र झा)को कथाको निरन्तरता हो। 

पहिलो त यसले कथामा अघिल्लो जात्रै जात्राको तीन करोड कसले खायो भन्ने पुष्टि गर्न सक्तैन। 

दोस्रो, साहु बनेका पात्र राजाराम पौडेलले कसरी खाए भन्ने पनि पुष्टि गर्न सक्तैन। 

घटनाक्रममा केही कमिक अवस्था आउने स्थितिमा पात्र परिचयमा चुकेको छ। 

नेता जी अर्थात् हरिवंश आचार्यको परिचय स्थापित गर्न असमर्थ छ। फडिन्द्रका ससुरा बालाई उनकी पत्नीले किन छाडिन् भन्ने कथा एक लाइनमा पनि भन्न सकेको छैन। 

यसले राजनीतिक दलका नेताले बेरोजगारको उपयोग कालो कर्तुतमा कसरी गर्छ भन्ने देखाउन खोजेको छ तर त्यसको यथेष्ट कारण दिन सकेको छैन। 

प्रहरी निरिक्षकको भूमिका र परिचय स्थापित गराउन असमर्थ छ। अभिनयकर्तामा भूमिकाअनुसार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, हरिवंश आचार्यलगायतमा खोट लगाउने ठाउँ छैन। 

कमजोर पटकथाको अन्तिम प्रारुप हो, महाजात्रा। 

भारतीय लेखक अमित कलन्तरीले भनेका छन्– मानिसले पहिलो प्रेम र खराब फिल्ममा खेर फालेको पैसा कहिल्यै बिर्सँदैनन्। 
मलाई त्यस्तै लाग्यो। 

अहिले नेपालमा चलेको राजनीति, त्यसभित्रको रकमको चलखेल र गुन्डागर्दीको विषय छुन खोजेको छ तर गहिरो छैन। 

प्राविधिक रुपमा फिल्ममा नेपालमा उपलब्ध भएका उपकरणको प्रयोग भएको होला यसमा गहिरो टिप्पणी रहेन। बाँकी तपाई फिल्म हेरेर बुझ्न सक्नुहुन्छ। तर, जात्रा र जात्रै जात्रा हेरेका मानिसका लागि प्रदीप भट्टराईको यो फिल्म अपेक्षामा तुसारापात गर्ने फजुल जस्तो लाग्छ पक्कै पनि। आगे फिल्म हेरेर मुल्यांकन गर्न सकिन्छ।
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्