‘विद्यार्थीको व्यक्तित्व विकासका लागि मनोविज्ञान बुझ्न जरुरी’

शनिबार, चैत १०, २०८०

धुलिखेल - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरूले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज बनेपामा आयोजना गरेको ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।

अहिले विश्वभर नै नैतिक शिक्षाको खडेरी भएर अर्थ र व्यापारमा केन्द्रित भएको बेलामा शिक्षकहरू उद्देश्यतिर केन्द्रित हुँदै भविष्यतिर अगाडि बढ्दै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पाठ्यपुस्तकमा भएको विषय विद्यार्थी आफैँले अध्ययन गर्ने भएकाले शिक्षकहरूले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो । 

न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिँडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त होइन रु भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनः जनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । अब पार्टीले अभावभन्दा पनि असमानताविरुद्धमा लड्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । 

उपाध्यक्ष सापकोटाले अहिलेका राजनीतिक दलहरूबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समीकरण भएको बताउनुभयो । अहिलेको राजनीतिक समीकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुसी र आशा पलाएको पाएको उहाँको दाबी थियो । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजारले सङ्गठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढङ्गले शिक्षकहरू अगाडि बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनका निम्ति र नेपालीको भविष्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरूले भूमिका खुल्नुपर्नेमा जोड दिनुभयो । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरूमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नुपरेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ति गरिदिने प्रवृत्ति देखिएकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा वृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो । 

कार्यक्रममा सङ्गठनमा आबद्ध भई शिक्षण पेसामा लागेर सेवा निवृत्त हुनुभएका र दीर्घसेवा प्रदान गरिरहनुभएका एक सय सात शिक्षकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्