चक्रव्यूह तोडेर बाहिर आएका छौँ, अब मिसन ८४ सफल पार्छौं : शंकर पोखरेले

शनिबार, चैत १०, २०८०

काठमाडौं - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलेले नेपालको राजनीतिमा नयाँ सहकार्य सुरु भएको बताउनुभएको छ ।

एमाले कास्कीको नवौँ जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै पोखरेलले अझै पनि जनताले सबैभन्दा बढी मन पराएको पार्टीले शासनको नेतृत्व गर्न नपाएको विडम्बनापूर्ण स्थिति रहेको बताउनुभयो । देश र जनताप्रति जिम्मेवार भएकै कारण एमालेले पुरानो गठबन्धन छाडेर आउनेलाई सरकारको नेतृत्व गर्न समर्थन गरेको पोखरेलले बताउनुभयो । ‘किनकि हाम्रो चिन्ता राष्ट्रको भविष्यप्रति छ, जनताको भविष्य प्रति छ ।’ उहाँले भन्नुभयो ।

प्रचण्डलाई कांग्रेससँग समीकरण गर्दाको बेला एमालेले यो गठबन्धनबाट देश र जनताको पक्षमा काम गर्न सक्नु हुन्न भनेर एमालेले भनेको उहाँले स्मरण गराउनुभयो । अहिले आएर बल्ल प्रचण्डले त्यो कुरा बुझ्नु भएको कारण नयाँ सत्ता समीकरण बनेको पोखरेलले स्पष्ट पार्नुभयो ।

एमालेले यो सरकारलाई नयाँ गठबन्धन नभनेको उहाँले बताउनुभयो । अहिलेको समीकरण केवल सत्ता समीकरण मात्र भएको उहाँले प्रष्ट पार्नुभयो । पोखरेलले एमाले तत्काल वामपन्थी गठबन्धन वा समाजवादी मोर्चाको पक्षमा नरहेको उहाँले दोहोर्‍याउनुभयो ।

नेतृत्वको प्रश्नलाई निरूपण गर्न नसक्दा नेपालमा राजनीतिक अस्थिरता कायम भएको बताउनुभएको छ । चुनाव वर्गसंघर्षको केन्द्रीय थलो भएको पोखरेलले स्पष्ट पार्नुभयो। ‘कसले टिकट पायो होइन, पार्टीलाई जिताउने हाम्रो कर्तव्य हो भन्ने कुरा साझा संकल्पका रूपमा पार्टीका नेता कार्यकर्ताले जबसम्म आत्मसाथ गर्न सक्दैनन् तबसम्म हामीले नेपालको राजनीतिमा नेतृत्वको प्रश्नलाई निरूपण गर्न सक्दैनौँ ।’ उहाँले भन्नुभयो ।

पोखरेले राजनीतिक अस्थिरता आज देशको प्रमुख चुनौती रहेको बताउनुभयो । नेपाल बनेन भनेर बहस चलाउने गरिए पनि किन बनेन भन्ने बहस नचलाइएको पोखरेलले बताउनुभयो । ‘पुराना दलका कारण नेपाल बनेन भनेर भाष्य निर्माण गर्न खोजिँदैछ ।’ उहाँले भन्नुभयो ।

विकसित मुलुकमा सयौँ वर्षदेखि राजनीतिमा रहेका पार्टीले परिवर्तनको काम गरिरहेका पोखरेलले बताउनुभयो । नीति र नेतृत्वको विकल्प भएकै राजनीतिक दलबाट विश्वमा खोजिने उहाँले स्पष्ट पार्नुभयो । नीतिको जगमा खडा भएका राजनीतिक दलले नै स्थायित्व दिन सक्ने उहाँले बताउनुभयो । ‘नेपाललाई विकास र समृद्धिको दिशामा लैजाने हो भने बलिया राजनीतिक दलको आवश्यक छ भन्ने कुराको सच्चाइलाई नेपाली जनताको बिचमा लिएर जानुपर्दछ, जति बेला हामीलाई शक्ति आवश्यक पर्छ, त्यति बेला जनमत विभाजित हुने गरेको छ ।’ महासचिव पोखरेलले भन्नुभयो ।

‘एमालेविरुद्धको चक्रव्यूहलाई तोडेर हामी बाहिर आएका छौँ, सहकार्यको एउटा यात्रा अगाडि बढाएका छौँ ।’ उहाँले भन्नुभयो । एमालेको मुख्य लक्ष्य मिसन २०८४ नै रहेको उहाँले बताउनुभयो । एमालेको अर्जुन दृष्टि मिसन २०८४ रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘मिसन २०८४ मुलुकको भविष्य निर्माणको संकल्प हो, त्यसबाट एमाले पछि हट्ने कुरा आउँदैन ।’ उहाँले भन्नुभयो ।

अहिले एमाले सरकारमा त गयो महत्पूर्ण मन्त्रालय त लिएन नि भन्ने चर्चा हुने गरेको बताउँदै पोखरेलले अहिलेको संसद् भित्र एमालेले चाहे जस्तो नीतिगत नेतृत्व सम्भव नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामीले त मुलुकको ओरालो यात्रालाई रोक्न मात्र सहकार्य गरेका छौँ ।’ उहाँले भन्नुभयो । पार्टी सुधारको लागि एमालेका नेता कार्यकर्ता पनि सुध्रिनु पर्ने उहाँले बताउनुभयो । नेता कार्यकर्ता नसुध्रिएसम्म मिसन २०८४ सफल हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्