लिङदेनको प्रश्न : संघीयताले मधेशलाई के दियो

सोमबार, चैत ५, २०८०

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयताले मधेशलाई के दियो भन्दै प्रश्न गरेका छन् । 

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागका बारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न आज सर्लाहीको बरहथवामा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मुलुक संघीयतामा गएपछि मन्त्रीहरुको संख्या बढ्नु बाहेक अरु नभएको बताएका हुन् । अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाले जनतालाई केही नदिन नसकेको बताएका छन् ।

 सभामा लिङदेनले भने, ‘संघीय गणतन्त्रमा मधेशबाट ५० जना संघको मन्त्री र उत्तिकै संख्यामा प्रदेशमा मन्त्री भए, तर जनताको जीवनस्तर परिवर्तन भएन ।’

मधेशको कार्यक्रममा संघीयताको विरोध नगर्न आफूले सुझाव पाएको भन्दै उनले भने, ‘राजेन्द्र, मधेशमा गएर संघीयताको विरोध नगर्नु है, तर म सोध्न चाहन्छु– संघीयताले तपाईलाई के दियो रु’
अध्यक्ष लिङदेनले मधेशबाट राष्ट्रपति, उपराष्ट्रपति र महत्वपूर्ण मन्त्रालय पाइसक्दा मधेशी जनता झनझन् कमजोर बन्दै गएको बताए । ‘अहिले राप्रपा बाहेक नेपाली जनताको भरोसा अरु कुनै राजनीतिक शक्तिसँग छैन । अन्यसबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेका छन्, गलत सावित भएका छन् ।’

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्