इलाम २ उपनिर्वाचनमा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

आइतबार, चैत ४, २०८०

इलाम - वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा ९एमाले० इलामले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम सिफारिस गरिएको हो ।

पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले एमालेका दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि सहमति जुट्न नसक्दा ६ जनाकै नाम केन्द्रमा पठाइएको सचिव उमेश गुरुङले बताए ।

पार्टी जिल्ला कमिटीले नेम्वाङ, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको हो ।

सकेसम्म सहमति जुटाएर पठाउने तयारी गरी उम्मेदवार बन्ने इच्छा राखेर निवेदन दिएका सबैलाई राखेर छलफल गरिए पनि सहमति जुट्न सकेन । कसैले पनि आफ्नो निवेदन फिर्ता लिन नचाहेको गुरुङले बताए ।

अब पार्टीको केन्द्रीय कमिटीले नै ती ६ जनामध्येबाट उम्मेदवारको टुंगो लगाउने उन्ले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्