सत्ता समीकरणमा प्रचण्डका दुई लाइनः कांग्रेसका प्रिय जनार्दन, एमालेको रथ कुदाउने बर्षमान

बिहीबार, फागुन २४, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा उपयोग गरेको दुई लाइन संघर्षको अभ्यासलाई अहिले पनि जारी राखेका छन्। 

पछिल्लो पटक एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)लगायतको गठबन्धन बनाउनका लागि उपमहासचिव बर्षमान पुनःको भूमिकालाई प्रचण्डले स्वीकार गरे। जबकि, कांग्रेसलगायतका दलसँगको गठबन्धनका निम्ति अर्का उपमहासचिव जनार्दन शर्माको अभ्यासको पनि प्रचण्डले उपयोग गरेका थिए।

एकाएक सत्ता गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्रीको पदमा कायम रहेका प्रचण्डले दुई लाइन संघर्षमा नेतृत्व आफैंले कायम राखेको यो पहिलो उदाहरण होइन। स्मरणीय छ, गत बर्षको पुस १० मा एमालेसहितको यहि गठबन्धन कायम गराउन पनि बर्षमानको भूमिका प्रभावकारी रहेको थियो। 

त्यसअघि कांग्रेससँगको सहकार्यका लागि भने जनार्दन शर्माको उपयोग नै गरिएको थियो। फलतः कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा अर्थमन्त्री बनेका थिए।  

कांग्रेस र एमालेसँगका अलग गठबन्धनको उपयोगमा यी दुई उपमहासचिव सक्रिय भएका कयन उदाहरण छन्। यसअघि अर्थमन्त्री रहेका शर्माको निकट सम्बन्ध कांग्रेससँग थियो भने एमालेसँगको गठजोड बनाउन सफल भएका कारण नै बर्षमानले अर्थ मन्त्रालयको जिम्मेवारी पाए।

माओवादी युद्धकालदेखि नै प्रचण्डले यहि राजनीतिक लाइनमा आफूलाई अगाडि बढाएका थिए। त्यसबेला उपाध्यक्ष रहेका मोहन बैद्य किरण र डा. बाबुराम भट्टराईको दुई लाइनमा नै संगठनको नेतृत्वमा प्रचण्ड हावी भएका थिए। 

संविधान सभाको निर्वाचनपछि पार्टी विभाजनमा नपुग्दासम्म पनि उनले यो उपक्रम जारी राखेका थिए। यहि शिलशिला पछिल्ला दिनमा आउँदा नेकपा गठनका क्रममा प्रचण्डले गरेर देखाएका थिए। जहाँ एकातिर केपी शर्मा ओली र अर्कातिर माधवकुमार नेपालबीच उनले खेल्ने मौका पाए। 

‘सार्वजनिक रुपमा सत्ता समीकरणमा पनि समय–समयमा यो अभ्यासमा प्रचण्ड अब्बल देखिए’, एक राजनीतिक विश्लेषक भन्छन्,‘कहिले केपी शर्मा ओली त कहिले शेरबहादुर देउवाको उपयोगमा शक्तिमा रहने उनको खेल अहिलेसम्म पनि जारी देखियो।’
यसका निम्ति उनले पार्टीभित्र दुई उपमहासचिवको उपयोग राम्रोसँग गरेको पनि पाइयो। जसको निरन्तरतामा नयाँ सरकार र मन्त्रिमण्डल भर्खरै गठन भयो। आगामी दिनमा प्रचण्ड कसरी अगाडी बढ्लान् त्यो हेर्न बाँकी भए पनि यो अभ्यासमा उनी सफल मात्र भएको टिप्पणी गरिन्छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्