उपनिर्वाचन

उपनिर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन २८ मा

बुधबार, फागुन १६, २०८०

काठमाडौँ - निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।

आयोगले फागुन २८ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन आयोगले भनेको छ । सोका लागि फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

उक्त अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने बताइएको छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्