प्रतिनिधिसभाकाे बैठक

प्रतिपक्षी एमाले, रास्वपा र राप्रपाको एक स्वर : सरकार जवाफ देऊ

सोमबार, फागुन १४, २०८०

काठमाडौँ - संघीय संसद् प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाले सरकारले विवादित मन्त्रीहरूको राजीनामा माग गरिएको विषय, किसानका समस्या, मिटरब्याजीलगायतका विषयमा संसद्‍मा उठेका प्रश्नको जवाफ माग गरेका छन् । उनीहरूले सरकारका प्रधानमन्त्री र मन्त्रीहरू सदनमा उपस्थित भएर जवाफ नदिएको भन्दै प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद गोकुल बास्कोटाले प्रतिपक्षले बारम्बार उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै प्रश्न उठाए । एउटै कुरा बारम्बार उठाइराखिएको छ । सरकारको कानमा रुवा कसैले हालिदिएको छ ? जनप्रतिनिधिमूलक संस्थामा विपक्षी दलहरूले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ, बास्कोटाले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको बालकुमारीमा भएको घटनाका आरोपित भनिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा गएर बयान दिने दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र रामग्रामको जग्गा प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग प्रतिपक्षी दलहरूले गरेका छन् । त्यस्तै मिटरब्याज पीडित किसान, दुग्ध किसानलगायतका माग पनि पूरा गर्नुपर्ने उनीहरूको माग छ ।

बास्कोटाले भने, प्रधानमन्त्रीले आजै आएर जवाफ दिनुपर्‍यो । प्रतिपक्षीलाई दोष देखाएर गठबन्धनको झन्डा हल्लाएर हुँदैन । हाम्रो आन्दोलन जारी छ । मन्त्रीलाई हटाउनै पर्छ नत्र भनेदेखि सधै हामीले प्रश्न उठाउने सरकार नाजवाफ बस्ने ? जवाफदेहिता यही हो ?

राप्रपा अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सरकारले किसानका समस्याबारेमा जवाफ नदिए आगामी बैठक अवरुद्ध गर्ने चेतावनी दिए । सरकारले मिटरब्याज पीडितहरू, लघुवित्त समस्या पीडितहरूको र दुग्ध किसानमाथि अनदेखा गरेको छ । उनीहरूको पीडामाथि हँसिमजाग गरिरहेको छ । उनीहरूको पीडा टुलुटुलु हेरेर बस्न सक्दैनौं, उनले भने, सरकारले यी तीनवटा विषय मिटरब्याज, लघुवित्त र दुग्ध उत्पादक कृषकहरूको बारेमा आउने बैठकमा ठोस जवाफ नदिए राप्रपाले संसद् अवरुद्ध गर्छ ।

रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रश्न उठेका मन्त्रीहरूलाई संसद्‍मा आएर आफ्ना कुरा राख्न केले रोकेको छ भनेर प्रश्न गरेका थिए । उनले संसद्लाई आरोप प्रत्यारोपको क्षेत्र किन बनाइएको छ ? भनेर पनि प्रश्न गरेका छन् । सरकारका मन्त्रीहरूले आफूलाई लागेका आरोपका विषयमा संसद्‍मा आएर जवाफ दिन रोकेको छ के ले ? किन बारम्बार जवाफ मागिरहनुपर्ने हो ? आरोप या विषय निराधार हुन् भने संसद्‍मा आएर भन्नका लागि केले रोक्यो ?, लामिछानेले भने ।

सरकारले मिटरब्याज पीडितहरूको विषयमा ऐतिहासिक सम्बोधन गरेको दाबी गर्ने तर पीडितहरू भने पूर्व र पश्चिमदेखि २३ दिन हिँडेर काठमाडौं आउनुपर्ने अवस्थाको सिर्जना कसरी भयो भनेर पनि लामिछानेले प्रश्न गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार