देशभर एक लाखभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

बुधबार, फागुन ९, २०८०

काठमाडौँ– सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा एक लाख ५८ हजार एक सय ४७ मुद्दा फछ्र्योट गर्न बाँकी रहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उक्त मुद्दा फछ्र्योट हुन बाँकी रहेको देखिएको हो ।

सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गत आर्थिक वर्षदेखि जिम्मेवारी सरेका एक लाख ५९ हजार आठ सय ५१ र चालु आवमा नयाँ दर्ता भएका एक लाख ८० हजार एक सय ३९ गरी जम्मा मुद्दा तथा रिटको वार्षिक लगत तीन लाख ३९ हजार नौ सय ९० कायम भएको हो ।

त्यसमध्ये एक लाख ८१ हजार आठ सय ४३ अर्थात् ५३ दशमलव ४८ प्रतिशत मुद्दा तथा रिट फछ्र्योट भएको प्रतिवेदनमा जनाइएको छ । सर्वोच्च अदालतमा गत आवदेखि जिम्मेवारी सरेका २९ हजार छ सय ५४ र यस आवमा नयाँ दर्ता भएका नौ हजार दुई सय ७९ गरी जम्मा मुद्दा तथा रिटको लगत ३८ हजार नौ सय ३३ कायम भएकामा सोमध्ये ११ हजार ७३ अर्थात् २८ दशमलव ४४ प्रतिशत फछ्र्योट भई २७ हजार आठ सय ६० बाँकी रहेको छ ।

अठार वटा उच्च अदालत एवं इजलासमा गत आवदेखि जिम्मेवारी सरेका २५ हजार आठ सय ५४ थान र यस आवमा नयाँ दर्ता भएका ३७ हजार गरी मुद्दा तथा रिटको जम्मा लगत ६२ हजार आठ सय ५४ कायम भएकामा ३८ हजार आठ सय ६८ अर्थात् ६१ दशमलव ८४ प्रतिशत फछ्र्योट भई २३ हजार नौ सय ८६ बाँकी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्