रास्वपाका प्रदेश महामन्त्री थापा निलम्बनमा

बुधबार, फागुन ९, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारवाहीमा परेका छन् । उनलाई पार्टीको फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ ।

उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।

उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग च नं ८० मिति २०८०-११-०७ को पत्र अनुसार कोशी प्रदेश समितिको महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआउन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ । अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको सङ्गठन सम्बन्धी काम कारबाहीहरू प्रदेश सङ्गठन विभाग सचिवमार्फत हुने जानकारी गराउँदछौ ।’

 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्