थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा रिहा

आइतबार, फागुन ६, २०८०

बै‌ंकक– थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि  पेरोलमा रिहा भएका छन् । 

व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएपछि अधिकारीहरूसँग सम्पर्कमा रहने गरी पूर्वप्रधानमन्त्री सिनावात्रा आइतबार रिहा भएका हुन् । शर्तहरू पालना नभएको अवस्थामा उनलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिने छ । 

सिन्ह्वाले स्थानीय समयअनुसार आइतबार बिहान एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्केको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार थाक्सिनले पाएको एक वर्षको जेल सजायमा छ महिना सोही अस्पतालमाउपचारत थिए ।  स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । 

थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले यसअघि नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताएका थिए । देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएको सिनावात्रासँगै ९ सय ३० कैदीले पेरोलका लागि स्वीकृत पाएका छन् । 

थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री भएका थिए । सन् २००८ देखि उनी स्वनिर्वासनमा गएका थिए। उनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गतवर्षको अगस्टमा थाइल्याण्ड फर्केका थिए । तर, थाइल्याण्डले उनलाई तत्काल हिरासतमा लिइएको थियो । 

गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले विभिन्न अभियोगमा थाक्सिनले पाएको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्