रुसी सेनामा नेपाली

रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको सीएनएनको रिर्पोट

आइतबार, माघ २८, २०८०

काठमाडौँ– रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले पुष्टि गरेको छ । 

सीएनएनले आइतबार एक रिपोर्ट प्रकाशित गर्दै रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको पुष्टि गरेको हो । 

निशान्त खनाल, सुगम पोखरेल, म्याथ्यु चान्स र मिहिर मेलवानी को ‘बाइलाइन’ प्रकाशित रिपोर्टमा रुसी सेनामा १५ हजार नेपाली कार्यरत रहेको विभिन्न स्रोतहरुबाट पुष्टि भएको  उल्लेख गरिएको छ ।

सीएनएनमा प्रकाशित रिपोर्टअनुसार रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने जानकारी लिन रुसी विदेश मन्त्रालयमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको उल्लेख छ । रुसले विदेशी सैनिकलाई भर्ती गर्नका लागि आकर्षक योजना अघि सारेसँगै ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती हुन त्यसतर्फ लागेको बताइएको छ ।

रुसले अघि सारेको योजनामा प्रतिमहिना २ हजार डलर तलब, छोटो समयमै रुसी पासपोर्टको व्यवस्थाजस्ता कारण र नेपालमा रहेको चरम गरिबी, बेरोजगारीजस्ता कारणले पनि नेपालीहरु रुसी सेनामा भर्ना हुने गरेका छन् ।

रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवा र रुसी सेनामा भर्ती भएका नेपालीका परिवार तथा आफन्तहरुसँगको कुराकानीका आधारमा उक्त रिपोर्ट प्रकाशित गरिएको सीएनएनले उल्लेख गरेको छ । 

सीएनएनको रिर्पोटमामा रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवाहरुले आफूहरुलाई छोटो समयको तालिमलगत्तै युद्धमोर्चामा खटाइएको र आफूहरुले युद्धको भीषण अनुभव गरेको सुनाएका छन् । 

यता, नेपाल सरकारले आधिकारिक रुपमा रुसी सेनामा कार्यरत १३ जना नेपालीको युद्धभूमिमा मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि वास्तविक संख्या अझै धेरै रहेको हुनसक्ने रुसी सेनाबाट भागेर आएका नेपालीहरु बताउाछन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्