अत्यन्त जरुरी सूचना

ललितपुरमा देखियो  ‘अफ्रिकन स्वाइन फिभर’, सचेत रहन आग्रह

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै किसानलाई सचेत गराएको छ ।

महानगरले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको भन्दै किसानलाई  सचेत गराएको हो ।

‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ महानगरले जनाएको छ ।

‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु हुन तथा देहायका उपाय अवलम्बन गर्न हुन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

किसानलाई फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न अनुरोध गर्दै बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न महानगर पशु शाखाले अनुरोध गरेको छ । रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्टाएर अलग्ग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउन समेत पशु शाखाले किसानलाई अनुरोध गरेको छ ।

घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न र अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन भनेको छ ।

यस्तो छ अत्यन्त जरुरी सूचना

swin-fever_lalitpur-notice-1707400787.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्