भ्रष्टाचारमुक्त समाज र सुशासन नै विकासको मूल आधार हो : राष्ट्रपति पौडेल

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् ।

मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए ।

उनले  राजनीतिलाई समाजसेवाको बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता भएको जिकिर गरे ।

हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अबका दिनहरुमा जनता र समाजको सेवा नै सवैको लक्ष्य हुनुपर्नेमा उनले जोड दिए । प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने उनको विश्वास छ ।  

कार्यक्रममा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गरे । पुरस्कारको राशी जनही ५१ हजार १ रुपैयाँ रहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्