सहकारी ठगी प्रकरण

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितको पूरक जाहेरी

सोमबार, माघ २२, २०८०

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसहित १८ जनाविरुद्ध सूर्यदर्शन सहकारीका पीडितले पूरक जाहेरी दिएका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार रास्वपा सभापति लामिछाने, विद्यार्थी नेता पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सहकारी ठगीमा पूरक जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार सहकारी ठगीमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेका मुद्दामा अहिले नयाँ जाहेरी दर्ता नगरी सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको हुन् ।

प्रहरी कार्यालय कास्की अनुसार सहकारी पीडितहरुले सभापति लामिछाने, पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रा.लि., वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायत विरुद्ध पूरक जाहेरी परेकाे छ ।

सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेकाे छ । तीमध्ये १५ जना फरार छन् भने ३ जना अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

सहकारी ठगी प्रकरणमा बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । सहकारी ठगी गरेको कसुरमा बिगोबमोजिमको जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय हुने सहकारी ऐनमा व्यवस्था ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्