देशभर ५ सय सहकारीमा समस्या देखियो : संसदीय समिति

आइतबार, माघ ७, २०८०

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिव ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको नियमन गर्न प्रभावकारी संयन्त्र स्थापना हुन नसकेका कारण करिव ५ सय सहकारीमा समस्या देखिएको बताएका हुन् । 

उनले देशैभरमा करिव १ प्रतिशत सहकारी संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत सहकारी पालीका अन्तर्गत सञ्चालन भइरहेको जानकारी दिए । अध्यक्ष दाहालले सहकारीको सञ्चालकहरुले नियम अनुसार सञ्चालन गर्न नसक्दा र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या देखिएको बताए । सहकारी सञ्चालनमा पारिवारीक एकाधिकारका कारण पनि बेतिथी देखिएको उनको भनाइ छ । उनले अहिलेको सहकारी समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको बर्गिकरण गर्नुपर्ने र रेड जोनमा रहेका सहकारी सञ्चालनलाई कानून बनाएर कारवाही गर्न सुझाव दिए । अन्य सहकारीलाई कार्ययोजना बनाएर समस्या समाधानतर्फ उन्मुख गर्नुपर्ने उहाले बताए ।

अध्यक्ष दाहालले सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाएपनि आवश्यक जनशक्ति र पूर्वाधार नहुदा काम गर्न समस्या भएको गुनासो गरे । समितिले प्रहरी निरिक्षक सहितको टोलीको माग गर्दा पनि सुनुवाई नभएको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरुले सहकारी पीडितहरुको संख्या बढ्दा पनि समस्या समाधानका लागि कुनै प्रयास हुन नसकेको बताएका थिए । समिति सभापति आरजु राणाले सहकारी क्षेत्रलाई समस्याग्रस्त घोषणा गरी समस्या समाधान हुन नसके आगामी दिनमा थप भयावह रुप लिने बताए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्