मधेस प्रदेश राजधानीमै छैन खानेपानी

आइतबार, माघ ७, २०८०

जनकपुरधाम- मधेश प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर, भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि चापाकलको अर्को भरपर्दो विकल्प पनि तयार भएको देखिँदैन । त्यसको उदाहरण हो, प्रदेश राजधानी जनकपुरधाम । प्राप्त विवरणअनुसार यहाँ करिब १२ प्रतिशत घरमा मात्रै खानेपानीको पाइप प्रणालीको पहुँच छ । 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार  जनकपुरधाममा ४० हजार चार सय नौ घरपरिवार छन् । तर, खानेपानी वितरणको मुख्य काम गर्दै आएको खानेपानी संस्थानले हालसम्म चार हजार छ सय ८५ घरमा मात्रै धारा जडान गरेको छ । जडान भएका धारामध्ये पनि करिब ४४ प्रतिशतभन्दा बढी घरमा आंशिक रूपमा मात्रै पानी वितरण हुने गरेको संस्थानकै तथ्याङ्क छ । कार्यालय प्रमुख विष्णुदेव साहले संस्थानले उपमहानगरमा २५ वटा वडामध्ये १४ वडाका चार हजार छ सय ८५ घरमा मात्रै धारा जडान भएका र त्यसको ५६ प्रतिशत जतिमा मात्रै पूर्ण रूपमा पानी वितरणको काम भइरहेको बताए । 

समग्रमा जनकपुर नगरक्षेत्रमा दुई करोड ५० लाख लिटर (२५ एमएलडी) पानीको माग रहेकामा धारा जडान भएका आधारमा हाल दैनिक ३० लाख लिटरमात्रै आपूर्ति गर्न सकिएको कार्यालय प्रमुख साहले जानकारी गराए ।  

अहिले वडा नं १० को अरगजा पोखरीको उत्तरमा र रामानन्द चोकस्थित कार्यालय परिसरमा चार लाख ५० हजार क्षमताका दुई वटा ओभरहेड ट्याङ्कीमा छ वटा डिप बोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरेर वितरणको काम भइरहेको छ । ‘सीमित बजेट र करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण धेरै ठाउँमा चाहेर पनि पानी पुर्याउन सकिएको छैन । तर, चालु आर्थिक वर्षमा पानी ट्याङ्की थप्ने, पानी वितरण सञ्जाल विस्तार अर्थात् पाइप विच्छ्याउने, अवरुद्ध भएका ठाउँमा पानी आपूर्तिका लागि मर्मतसम्भार गर्ने काम भइरहेकाले आगामी दिनमा केही सुधार हुने अपेक्षा छ,’ कार्यालय प्रमुख साहले भने । 

संस्थानको महसुल शाखा प्रमुख दधिवल यादवले पानीको माग बढ्दै गए पनि पुरानो संरचना र संस्थानसँग समन्वय नै नगरी गरिने विकास निर्माणका बेला त्यही संरचना पनि बिगार्ने तथा भत्काउने समस्याले जडान भएका नौ सयभन्दा बढी धारामा पानी अवरुद्ध भएको बताए ।  

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार