नेता गोरखबहादुरको अगाडि माओवादीले पिटेका थिए चिनियाँ महिला, पार्टीले लियो यस्तो एक्शन

बुधबार, माघ ३, २०८०

काठमाडौं– भूकम्पपीडितलाई राहत दिन पुगेकी चिनियाँ महिलासहितको टोलीलाई कुटपिट गर्ने माओवादी नेता गोरखबहादुर केसीलाई कारबाही भएको छ। 

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले केसीलाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया बढाएको छ। 

लिखित स्पष्टीकरण माग्दै वैकल्पिक केन्द्रीय सदस्य केसीलाई कारबाही किन नगर्ने भन्ने प्रश्न गरिनेछ।

जाजरकोट भूकम्पका पीडितलाई राहत दिन पुगेकी चिनियाँ महिला  सोउ सिच्याङमाथि मंसिर २० कुटपिट भएको थियो। सो विषय चिनियाँ अधिकारीले माओवादी केन्द्रसमक्ष राखेको थियो।  

केसी आठबीसकोट नगरपालिकाका पूर्वमेयर हुन्। केसीको समूहले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्ना बजारमा चिनियाँ महिलामाथि हातपात गरेपछि माओवादी केन्द्रको ध्यानाकर्षण गराइएको थियो। केसी मुकदर्शक बनी चालकसहितले महिलामाथि हातपात गरेका थिए। 

यो घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो।

‘चिनियाँ टोलीकी प्रमुखमाथि हातपात गरेको विषयमा लिखित स्पष्टीकरण सोध्ने र कारबाही अगाडि बढाउने निर्णय भएको छ’, माओवादीका एक नेता भन्छन्,‘केसीलाई कारबाही गर्न नपर्ने कारण के हो? त्यो पनि खुलाउन भनिएको छ।’ 
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्