नेभिगेशन
समाज विविध

७६ बर्षपछि तेस्रो पटक राजगद्दीको पर्खाईमा ज्ञानेन्द्र, निमर्ल निवासमा निम्तो छ

निर्मल निवासमा सर्वसाधारणलाई ४ घन्टा प्रवेश गर्ने मेसो मिलाईएको छ

काठमाडौं– गणतन्त्र घोषणाअघिका नेपालका राजा ज्ञानेन्द्र शाह सोमबारदेखि ७८ बर्ष पूरा भई ७९ बर्षको यात्रामा लाग्दैछन्। 

विस २००४ साल असार २३ गते नारायणहिटी राजदरबारमा उनको जन्म भएको थियो।

अन्य बेलाको भन्दा यस पटकको जन्मोत्सव केही राजनीतिक, रणनीतिक र परामर्शयोगय रहने भएको छ। निर्मल निवासले यसअघि नै जन्मोत्सवका लागि निर्मल निवासमा सर्वसाधारणलाई ४ घन्टा प्रवेश गर्ने मेसो मिलाएको छ। 

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाका अनुसार उक्त समयमा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना अर्पण गर्न सकिनेछ। मुलुकमा राजसंस्था अपरिहार्य भएको बताउँदै बस्नेत भन्छन्,‘नेपालको मौलिकता भनेको नै राजसंस्था र हिन्दूत्वमा हुन्छ। जनताका लागि सरकारले निर्मल निवासमा प्रवेश खुलाउनुभएको छ।’

राजपरिवारका सबै सदस्य उक्त अवसरमा हुनेछन्। 

विभिन्न संयोग र दुर्घटनाले ज्ञानेन्द्र राजाको राजगद्दीमा छोटो अवधिका लागि बसेका थिए। उनी ७६ बर्षअघि पहिलो पटक तीन बर्षको हुँदा गद्दीमा राखियो। जबकि, उनका हजुरबा त्रिभुवन शाह राजा र बुवा महेन्द्र युवराज भएका बेला भारत निर्वासनमा पुगेका थिए। 

ज्ञानेन्द्र शाह तत्कालिन युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौँ, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। 

उनको जन्मपछि, उनका पितालाई राज ज्योतिषहरूले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्किएका थिए।

२००७ को राजनीतिक घटनाको समयमा उनका पिता (महेन्द्र) र हजुरबुवा (त्रिभुवन) र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए। 

उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि.सं. २००७ कात्तिकमा राजा घोषणा गरेका थिए। 

उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरू समेत निष्काशन गरिए। 

राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक तीन लाख रुपैयाँ बजेट समेत छुट्याएका थिए। 

वि.सं. २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हालेका थिए।

ज्ञानेन्द्रको पढाई दाजु राजा वीरेन्द्रसँगै दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा भएको थियो। उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६९ मा स्नातक गरेका थिए।

उनले दाजु वीरेन्द्रको राज्यभिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रूपमा काम गरेका थिए। उनले श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरेका थिए।

उनको विवाह वैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवीसँग भएको थियो।

२०५८ जेठ १९ गते नारायणहिटी दरबार भित्र भएको नरसंहारमा राजा राजा वीरेन्द्रको परिवारको हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। दीपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो।

जेठ २२ मा दीपेन्द्रको अचेत अवस्थामा नै मृत्यु भएपछि राज्य सहायक ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो। एकातिर परिवारको बिग्रह र अर्को तिर देशमा जारी रहेको सशस्त्र यतिबेलाको उनको मुख्य चुनौती थियो।

उनले राजाका रुपमा जिम्मेवारी सम्हालेको ४ बर्षमा नै राजगद्दी त्याग्नुपर्ने अवस्था आयो। उनले मन्त्रिपरिषद अध्यक्षसहित प्रत्यक्ष शासन सम्हालेपछि १९ माघ ०६१ को शाही कदमलाई कालो दिन मानियो। 

गणतन्त्रमा राजगद्दी त्याग गरेका उनी बेलामोका बोले पनि मौन नै रहेका थिए। तर मुलुकको राजनीतिक अवस्थामा बेथिति बढेपछि अहिले राजसंस्थाको अपरिहार्यताको विषय उठान भएको छ।

गत प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा दिएको वक्तव्य अलिक कडा थियो। २५ फागुनमा उनको काठमाडौ फिर्तीमा देखिएको भिडले राजसंस्थाका समर्थक बलियो रहेको देखियो। 

सोही भिडका कारण गत बर्षकै १५ चैतमा राजावादीको आन्दोलन भयो। आन्दोलन हिंसात्मक बनेको थियो। 

राजावादी संघसंस्था अझ पनि उनको पक्षमा राजसंस्था अपरिहार्य रहेको बताउँदै ज्ञानेन्द्रलाई नै तेस्रो पटक गद्दीमा फर्काउने चर्चा गरिरहेका छन्। के उनले ह्याट्रिक गर्लान्? यस विषयको विश्लेषण सोमबार निर्मल निवासमा शुभकामना दिन जानेहरुले बताउनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देखेको हैदराबाद, भोगेको नेपाल