चलचित्र 'म्याउँ' घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका

सोमबार, माघ १, २०८०

काठमाडौ - अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र 'म्याउँ' बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।

अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए ।

मानसिक रूपमा विक्षिप्त अवस्थाको 'साइको किलर', जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले बताए । उनले यस चलचित्रमा 'ट्विस्ट एन्ड टर्न'को भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।

दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित चलचित्र 'कान्तारा'को गीत 'बराह रूपम' र पद्मलता चलचित्र 'थानी ओरूभन'को 'कान्नाला कान्नाला' गीतबाट चिनिन्छन् ।

दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने 'म्याउँ'मा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।

यस चलचित्र चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. चलचित्रमा आबद्ध भइसकेको छ ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी चलचित्रमा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ । यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्