वैदेशिक राेजगार ठगी

अमेरिका पठाइदिन्छु भनी २३ लाख बढी ठगी गर्ने महिला पक्राउ

बुधबार, पुस २५, २०८०

काठमाडौँ– अमेरिका पठाइदिन्छु भनी साढे २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  आज भंगाल चपलीबाट पक्राउ गरेको हो । 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र तलब मासिक ४ लाख हुने भनी विश्वास दिलाएर रकम ठगी गरेको उजुरी परेपछि महतलाई पक्राउ गरिएको उपरीक्षक रेग्मीले बताए । पटक–पटक गरेर रकम लिएपछि फरार भएकी महतविरूद्ध पीडितले कार्यालयमा उजुरी दिएका थिए ।

महतलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार