गाजा युद्ध सन् २०२४ भर जारी रहने इजराइलको चेतावनी

सोमबार, पुस १६, २०८०

गाजापट्टी– गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ । 

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताउनुभयो । “सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ”, अक्टोबर ७ मा हमासको हमलबाट सुरु भएको द्वन्द्व अझ बढेको भन्दै उनले भने ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ । 

घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गरे । “हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौँ र आफ्नो समयको आनन्द लिन्थ्यौँ, तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्”, अबु अरबले भने । 

हमासले वर्षको सुरुआत इजराइलमा रकेट हमला गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । रकेट हमला गरेपछि तुरुन्तै २६ वर्षीय गेब्रियल जेमेलम्यानले भने, “मेरो मुटु धड्किरहेको थियो, यो भयानक छ, तपाईंले हामीले जुन जीवन बाँचेको देख्नुभयो, यो पागलपनले भरिएको छ ।”

इजराइलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरु गरेको छ । यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजराइली हमलामा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार आठ सय २२ जना मारिएका छन् । इजराइली सेनाका अनुसार गाजाभित्र इस्लामिक लडाकू समूह हमासविरुद्धको युद्धमा उसका एक सय ७२ सैनिक मारिएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका थिए । 

“हामीले हाल गाजामा सेना परिचालन र रिजर्भ प्रणालीको योजनालाई पनि अनुकूल बनाउँदैछौँ, केही रिजर्भका सेना यसै साता उनीहरूको परिवार र रोजगारीमा फर्किनेछन्”, प्रवक्ता हगारीले भने, “यसबाट अर्थतन्त्रको बोझलाई उल्लेखनीयरूपमा कम गर्नेछ र उनीहरूलाई अर्को वर्षमा आगामी गतिविधिहरूका लागि शक्ति जम्मा गर्न सहयोग पुग्नेछ, लडाइँ जारी रहने छ र उनीहरूको आवश्यकता अझै हुनेछ ।”

युद्धको सुरुआतमा इजराइलले घेराबन्दी गरेपछि गाजाबासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नुपरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले भोक र सङ्क्रामक रोगको चेतावनी दिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्