सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलन

जहाँ पुग्छन् रवि त्यहिँ पेल्छ कान्तिपुरः फेरि आयो रास्वपा सभापति लामिछानेको अर्को उत्तर

बिहीबार, पुस १२, २०८०

काठमाडौंतीन दिन लामो पदयात्रा गरी नारायणगढदेखि बुटवल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ग्यालेक्सी टीभीमा प्रबन्ध निर्देशक रहेका बेला सहकारीको रकम एक करोड डिपोजिट गरेको विषय सतहमा आएको छ।

कान्तिपुर दैनिकले गोर्खा मिडिया नेटवर्कका नाममा ग्लोबल आईएमई बैंकमा डिपोजिटको स्लिपसहित सुप्रिम सहकारीबाट लिएको रकम लामिछानेले जम्मा गरेको दाबी गरेको छ।

यो दाबीसँगै आम मानिसमा सत्य के हो भन्ने कौतुहलताबीच लामिछानेले पनि उत्तर दिएका छन्। नारायणगढमा रहेका बेला साहारा सहकारीको रकम हिनामिनामा जीबी राईसँगै नाम जोडिएका रवि बुटवल पुग्दा त्यहाँको सुप्रिम सहकारीको समाचार कान्तिपुरले प्रकाशित गरेपछि रविले यस्तो उत्तर दिएका छन्।

हेर्नुहोस्

अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन। तैपनि शुभचिन्तकहरुलाई भ्रम नपरोस् भनेर यति लेख्दै सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिदै छु।

सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो त्यो काम मैले गरेको आरोप लगाएको त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ।

मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुपर्यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुपर्यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुपर्यो।

तर कान्तिपुरले सुप्रिम सहकारीको कसको नाममा रहेको खाताबाट त्यो रकम ट्रान्सफर भएको भन्ने लेखेको , मैले नै त्यो रकम बैँकमा जम्मा गरेको प्रमाण दिन सकेको छ।

खाता नै नभइकन कुनै सहकारीको रकम कसैले कुनै कम्पनीको बैँक खातामा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन भन्ने अति सामान्य कुरा देशको यति ठूलो मिडियाका पत्रकारहरुले नबुझेको कसरी मानौँ ?

तर हुँदो रहेछ। फगत् एउटा डिपोजिट स्लिपमा मेरो पनि नाम कसैले लेखेकै भरमा मेरो प्रत्यक्ष संलग्नता भएको ठूलो हेडलाइनसहितको समाचार बन्न यस्ता सामान्य आधारभूत तथ्यमा समेत विचार गरिएन। कसैले कैलाश सिरोहियाको नाममा कसैको बैँक खातामा रकम जम्मा गरिदियो भने दोषी त्यो मान्छे हुन्छ कि कैलाश सिरोहिया? फेरि बैँकले एक लाख रुपैयाँभन्दा बढी नगद खातामा जम्मा गर्दा डिपोजिट गर्नेको परिचय खुल्ने कागजात पनि माग्ने कुरा सबैलाई थाहै भएको कुरा हो। एक करोड रकम जम्मा गर्नेको हस्ताक्षर वा पहिचान हुने कागजात बैँकले राखेन होला ? त्यसमा मेरो केही नदेखिएकै कारणले लेखिएन होला।

समाचारमा नै सहकारीको रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएको छ। यसबाटै यसमा प्रत्यक्ष संलग्न नरहेको पुष्टि हुन्छ। सहकारीको बचतकर्ता वा खातावाला हुँ, सहकारीको पदाधिकारी। अनि मैले मसँग सम्बन्ध नै नरहेको सहकारीको रकम कसरी अर्को खातामा ट्रान्सफर गर्न लगाउने हैसियत राख्छु ? यति धेरै खोज पत्रकारिता गर्नेले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न पनि सकेन। जनविश्वास गुमाउँदै गएको आरोप लागिरहेको पत्रकारिताको केही मान राख्दिनुस्।

 

यहाँ हेर्नुहोस् कान्तिपुरको समाचार

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार