सवारी दुर्घटना

बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सोमबार, पुस ९, २०८०

खोटाङ– सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवकको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै आज विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो ।

काठमाडौँबाट खोटाङ आउँदै गरेको बा६०प ३५४५ नंको मोटरसाइकललाई विपरीत दिशा औरामेछापबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नंको बसले ठक्कर दिँदा मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । स्थानीय बासिन्दा एवम् अन्य सवारी साधनका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । 

यातायातका सवारी साधनको निकै चाप हुने उक्त राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने सवारी साधनहरु दुर्घटनास्थलमै लर्को लागेको थियो । दुर्घटनापछि आक्रोशित भीडले अवरुद्ध गरेको सडक करिब दुई घण्टापछि बिना सर्त खुलाइएको प्रहरीले जनाएको छ । 

मृतकको शवपरीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुर्‍याएको पाइएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिएका छन् । “दुर्घटना भएको थाहा पाएलगत्तै हलेसीबाट हिँडेका हामीहरु भर्खर घटनास्थल आइपुगेका छौँ । मृतक दुवै जनाको शवपरीक्षणका लागि सिन्धुली माडी पुर्‍याइएको छ भन्ने जानकारी पाएका छौँ”, उनले भनेयो, “शव भएको ठाउँमा पुग्न अझै समय लाग्छ । कुन सहमतिमा शव उठाइएको छ भन्ने थाहा छैन । त्यहाँ पुगेपछि यथार्थ बुझेर निर्णय लिन्छौँ ।”

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्