एकैदिन भारतीय लोकसभा र राज्यसभाका ७८ सांसद निलम्बित

सोमबार, पुस २, २०८०

नयाँ दिल्ली– भारतमा लोकसभा र राज्यसभाका गरी एकैदिन ७८ जना सांसदलाई निलम्बित गरिएको छ । 

पटक–पटक संसदको कार्यवाही अवरुद्ध गरेको भन्दै लोकसभाबाट भारतीय राष्ट्रिय कांग्रेसका सांसद अधीर रञ्जन चौधरीसहित ३३ जना र राज्यसभाबाट कांग्रेसका जयराम रमेशसहित ४५ जना सांसदलाई निलम्बन गरिएको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार सोमबार लोकसभाबाट कांग्रेसका ११ र तृणमूल कांग्रेसका ९ सहित ३३ सांसदलाई सभामुख ओम बिडलाले निलम्बित गरेका थिए । त्यसपछि विपक्षी दलले राज्यसभामा पनि हंगामा गरेका थिए । त्यसलगत्तै राज्यसभा सभापति जगदीप धनखडले ४५ जना विपक्षी सांसदलाई २२ डिसेम्बरसम्मका लागि निलम्बित गरिएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो ४ दिनदेखि संसदको सुरक्षा अवस्थालाई लिएर संसदभित्रै अवस्था तनावग्रस्त बनेकाे छ । केही दिनअघि बैठक चलिरहेका बेला संसदभित्र प्रवेश गर्दै नाराबाजी गरेका थिए । संसदको सुरक्षामा चुकेको भन्दै विपक्षी दलहरु सरकारमाथि खनिएका थिए ।

यसअघि डिसेम्बर १४ मा लोकसभाका १३ सांसद र राज्यसभाका एक सांसदलाई निलम्बन गरिएको थियो । हालसम्म कुल ९२ सांसद निलम्बित भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 

भारतीय राज्यसभामा कुल सांसद संख्या २४५  छ । जसमध्ये भाजपा र उसका सहयोगी दलका १०५, कांग्रेस सम्मिलित गठबन्धनका ६४ र अन्य ७६ सांसद छन्। जसमध्ये विपक्षी दलका ४६ सांसद निलम्बित भएका छन् । यस्तै, लोकसभामा सांसद संख्या ५३८  छ । जसमध्ये विपक्षी दलका ४६ सांसद निलम्बित भएका छन्। हालसम्म ९२ सांसद निलम्बनमा परेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्