कोशी प्रदेश

कोशी 'प्रदेश निजामती सेवा ऐन' संशोधन गर्न बनेको विधेयक पारित 

सोमबार, मंसिर २५, २०८०

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली (पहिलो संशोधन समेत), २०७४ को नियम १०८ बमोजिम मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव पेस गरेका थिए ।

सो विधेयक सम्बन्धित विषयगत समितिबाट दफावार छलफल भई सुशासन तथा योजना समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले सदनमा आइतबार पेस गरेका हुन् । प्रस्तावित विधेयकको कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारी, नारायण बुर्जा मगर, कमला दर्नाल, गोम्बु शेर्पा, रामदेव यादव, भक्तिप्रसाद सिटौला र प्रदीपकुमार सुनुवारले उपादेयता, सान्दर्भिकता, सकारात्मक तथा नकारात्मक पक्षमा बोलेका थिए ।

विधेयकको विषयमा उठेका जिज्ञासाका सम्बन्धमा मन्त्री राईले मुलुकमा प्रशासनिक सङ्घीयतालाई सुदृढ एवं बलियो बनाउन यो विधेयक आवश्यक छ भने । उनले विधेयकमा कुनै कमी तथा त्रुटी भएमा अविलम्ब सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा एमालेले मङ्सिर १४ गतेदेखि पश्चिम नेपालबाट थालेको समृद्धिको सङ्कल्प यात्राको सफलताको शुभकामना दिए । उनले यो यात्राले एकता, धार्मिक, सांस्कृतिक सद्भाव कायम राखी मुलुकमा विकास गर्न मद्दत पुग्ने बताउँदै मुलुकको अर्थतन्त्र सुधार गर्न सङ्घीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य खिनु लङ्वा लिम्बूले किसानले उत्पादन गरेको दूध र दुग्धजन्य पदार्थको बजार र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताए ।

सदस्य गीतादेवी रेग्मीले उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित एक ग्यारेजमा भएको आगलागीको छानबिन गर्नुपर्ने माग गरिन् । उनले यस किसिमको हानी– नोक्सानीबाट जोगाउन त्रियुगा नगरपालिकामा वारुणयन्त्र राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरिन् ।

सदस्य गीता तिमल्सेनाले प्रदेशमा रिक्त रहेका पदमा सरकारले अविलम्ब पदपूर्ति गर्नुपर्ने माग गर्दै कोशी प्रदेशसभाको सभामुख छनौट गर्ने प्रक्रिया पनि अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सदस्य तिलचन पाठकले विराटनगरको एक अस्पतालमा मृत घोषणा गरेको व्यक्ति जीवित नै रहेकाले यस विषयमा सरकारले छानबिन गर्नुपर्ने माग गरिन् ।

अर्की सदस्य ललिताकुमारी चौधरीले सरकारले सामुदायिक विद्यालयमा व्यावसायिक प्रतियोगिता गराई विद्यार्थीहरुलाई स्वरोजगार हुने विषय लागू गर्नुपर्ने बताइन् । सदस्य सपना दर्जीले विराटनगरको एक अस्पतालमा सुनसरी इनरुवा नगरपालिका–३ निवासी प्रताप सदालाई मृत घोषणा गरेको अस्पताललाई कारबाही गर्नुपर्नेमा जोड दिइन् ।

प्रदेशसभाको अर्को बैठक आगामी पुस ४ गते अपराह्न १ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । अपराह्ने १ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सञ्चालन भएपछि बीचमा ३० मिनेटका लागि स्थगन भएको बैठक ३ः१० मा पुनः प्रारम्भ भएको थियो । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार