Nic Ad Nic Ad
Nic Ad Nic Ad

हमासको क्रूरता र प्यालेस्टिनीमाथिको ‘सामूहिक सजाय’ लाई उचित ठहराउन सकिँदैन : गुटेरेस

शनिबार, मंसिर २३, २०८०

संयुक्त राष्ट्रसङ्घ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको ‘सामूहिक सजाय’ लाई जायज ठहराउन नसक्ने बताएका छन्।

इजरायलले गाजापट्टीमा हमासविरुद्धको उसको कारबाहीलाई जोड दिइरहेको वेला उनको यो भनाइ आएको हो। महासचिव गुटेरेसले राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक समेत बोलाएका छन्।

‘१३० जना अझै बन्धक छन्। म उनीहरूको तत्काल र बिनाशर्त रिहाइको माग गर्दछु । साथै उनीहरू रिहाइ नभएसम्म रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट उनीहरूको मानवीय व्यवहार र भेटघाटका लागि माग गर्दछु’, उनले भनेका छन्, ‘हमासद्वारा गरिएको क्रुरताले कहिले पनि प्यालेस्टिनीमाथिको सामूहिक सजायलाई जायज ठहराउन सक्तैन।’

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार धेरै साताको युद्धमा गाजामा अधिकांश महिला र बालबालिकासहित १७ हजार १७० जनाको मृत्यु भएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले अचानक हमला गरेपछि शुरु भएको युद्धमा इजरायलले इस्लामिक आन्दोलनलाई नष्ट गर्ने वाचा गर्दै गाजामाथि लगातार बमबारी गरेको छ र ट्याङ्क तथा स्थल सेना पठाएको छ। इजरायलका अनुसार हमासले हमलामा करिब एक हजार २०० नागरिकको मारेको र १३८ जनालाई बन्धक बनाएको छ।

‘म त्यो हमलाको स्वयं मनैदेखि निन्दा गर्दछु, यौन हिंसाको रिपोर्टबाट म स्तब्ध भएको छु’, महासचिव गुटेरेसले भन्नुभयो, ‘३३ बालबालिकासहित करिब एक हजार दुई सय जनालाई जानीजानी मार्नु, हजारौँ मानिसलाई घाइते बनाउनु र सयौँलाई बन्धक बनाउनुको औचित्य छैन।’

अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको अवस्थालाई खतरामा राख्न सक्ने भन्दै उनले परिषद्को ध्यानाकर्षण गराउनका लागि विरलै प्रयोग गरिने संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लाई प्रयोग गरेका छन्।

उनले प्यालेस्टिनीका लागि सम्भावित अपरिवर्तनीय प्रभाव र सम्पूर्ण मध्यपूर्वमा मानवीय युद्धविरामको माग गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्