विश्लेषण

कांग्रेस उत्तराधिकारीका चार अनुहार, महाधिवेशनसम्म कस्तो बन्ला समीकरण?

बुधबार, मंसिर २०, २०८०

काठमाडौंअहिलेदेखि नै नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट बन्ने सभापतिका विषयमा रणनीति योजना सुरु भइसकेका छन्।

कांग्रेसले अहिले गरिरहेको प्रदेश सम्मेलनदेखि नै यो खेल सुरु भएको हो। अब विस्तारै महासमिति बैठकपछि आगामी महाधिवेशनको पूर्वतयारी स्वरुप संगठनलाई चलायमान बनाउने तयारीमा नेताहरू जुटेका छन्।

उमेर तथा विधानलाई नजरअन्दाज नगर्ने हो भने हालका सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनका लागि उम्मेदवार हुने छैनन्। उनले दुई कार्यकाल कांग्रेसलाई नेतृत्व दिइसकेका छन्।

तर, उनको विरासतलाई कायम राख्न पत्नी आरजु राणा देउवालाई अगाडि बढाउन विभिन्न रणनीतिक अभ्यासचाहिँ गर्ने बताइन्छ।

हाल कांग्रेसमा आगामी नेतृत्वका लागि दाबी गर्न सक्ने चार अनुहार स्पष्ट छन्। संस्थापनइतरका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शशांक कोइराला उपसभापति पूर्णबहादुर खड्का आगामी नेतृत्वका लागि देखिएका स्पष्ट अनुहार हुन्। 

देउवासँग सभापतिमा पराजित भएका शेखर एक पटक सभापति बन्ने महत्वकांक्षामा छन्। उनी कांग्रेसभित्र कोइराला विरासतको राजनीतिलाई मलजल गर्न सक्ने उत्तराधिकारीका रुपमा पनि देखा परेका थिए। यसैले पनि कांग्रेसको आन्तरिक सत्ता समीकरणमा उनको भूमिकाको जुन प्रभाव , त्यो अझ बढ्दै जाने आँकलन गरिएको छ।

अर्कातिर कांग्रेसमा पुस्तान्तरणको बलियो आवाज लिएर महामन्त्री थापा सभापति बन्ने होडमा छन्। अहिले कोइराला समूहमा देखिएका उनले महाधिवेशनबाट नेतृत्वमा हस्तक्षेप गर्न विभिन्न समूहबाट उक्लिएको विगत छ। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्री पराजित भए पनि १४औंमा शेखरको प्यानलबाट अधिकतम मत ल्याएर सोही पदमा बिजयी भए। अब, अर्का महामन्त्री विश्वप्रकाश शर्मा युवा नेता प्रदीप पौडेलका साथमा आगामी महाधिवेशनमा सभापतिमा थापाको दाबी रहने लगभग पक्का छ।

यता, संस्थापन पक्षको उत्तराधिकारीका विषयमा आधिकारिक टुंगो नलागे पनि एक चरणको छलफलपछि वीपीपुत्र शशांक कोइराला सभापति बन्ने दाबीसहित मैदानमा छन्। उनलाई देउवा समूहको साथ रहने बताइन्छ। तर, उपसभापति पूर्णबहादुर खड्का पनि सभापतिका दाबेदार हुन्। उनले खुलेर अहिले केही नभने पनि महाधिवेशनको रापताप उम्मेदवारी घोषणासम्म पुग्दा मैदानमा उत्रिन सक्ने एकक्रिम पात्रचाहिँ खड्का रहने स्पष्ट नै छ।

कांग्रेसमा पेचिलो बनिरहेको हिन्दू राष्ट्रको विषयले पनि आगामी महाधिवेशनलाई प्रभावित बनाउन सक्ने आँकलन गर्न सकिन्छ। खासगरी सभापति देउवा नै यस मुद्दामा अहिले सकारात्मक देखिनु आगामी महाधिवेशनमा यसले मान्यता पाएको खण्डमा कांग्रेसभित्रको आन्तरिक राजनीतिमा निक्कै प्रभावित पार्न सक्छ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्