बसको ठक्करबाट २ जनाको मृत्यु, लुम्बिनी तनावग्रस्त

शनिबार, मंसिर १६, २०८०

बुटवल- रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

उनका अनुसार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । ठक्कर दिने बसमा स्थानीयहरुले आगो लगाइदिएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार