देउवा–प्रचण्डकाे राजनीति

धर्म निरपेक्षताविरुद्ध उभिए कांग्रेस सभापति देउवा, प्रचण्ड झस्किएका थिए अब तर्सिने भए

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धर्म निरपेक्षताविरुद्ध उभएका छन्। सर्वदलीय बैठकमा धर्म निरपेक्षता राम्रो नहुने, हिन्दू धर्म सापेक्ष मुलुक हुनुपर्ने मत राख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका थिए ।

देउवाले फेरि एउटा जिल्ला समितिको कार्यक्रममा धर्म निरपेक्षतामा सोच्नुपर्ने स्थिति रहेको बताएपछि यो विषयले महासमितिको बैठकमा प्रवेश पाउने र अनुमोदन हुन सक्ने सम्भावना केलाइएको छ।

कांग्रेसले हिन्दूत्व स्वीकार गरेको खण्डमा संविधानमा पनि सोही विषय उल्लेखका लागि संशोधन हुने सम्भावना छ, त्यस स्थितिमा प्रचण्ड तर्सिन सक्ने अनुमान गरिएको छ। नेपाली कांग्रेसमा धर्म निरपेक्षता विरोधी स्वर बलियो छ। खासगरी देउवा सन्निकट रहेका नेता नै हिन्दूत्वको पक्षमा बलियो स्वर बनाएर उभिन थालेपछि दबाब भएको हुन सक्ने पनि बताइन्छ ।

देउवाको यस्तो स्वरका पछाडि छिमेकी मुलुक भारतको राजनीतिक समर्थनको नीति समेत हुन सक्ने अनुमान गरिएको छ। तर त्योभन्दा धेरैचाहिँ आन्तरिक पार्टी राजनीतिका कारण नै देउवा दबाबमा रहेको मानिन्छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नै यस्तो विषयको अडानमा उभिएको खण्डमा गठबन्धन सरकारले संशोधनको प्रस्ताव लैजानुपर्ने हुन्छ।

त्यसो हुँदा प्रचण्डले अपनत्वमा लिइरहेको धर्म निरपेक्षताको विषयबाट च्युत हुन सक्ने स्थितिको सम्भावना पनि देखिन्छ । पहिचानवादी र हिन्दु धर्म पक्षधरबीच धरानमा ठूलै आन्दोलन भएको थियो । त्यसले जातीय र धार्मिक दंगा नै निम्त्याउने खतराको संकेत गरेको थियो। एकदिने त्यो भड्काउले ठूलै तनाव निम्त्याए पनि धार्मिक एजेण्डा भने विस्तारित भइरहेको छ। त्यसको पछिल्लो रुप भने दुर्गा प्रसाईंको आन्दोलन थियो ।

धर्म अहिलेको एजेण्डा बनाउँदै ओमकार परिवारका नाममा विभिन्न साना तर धार्मिक गुरुसहित आन्दोलनमा उत्रिएका कारण पनि मूलधारका राजनीतिक दल दबाबमा परिरहेका थिए। कम्युनिस्ट पार्टीहरुले यसको अपनत्व लिन नचाहे पनि कांग्रेसका लागि भने दबाबपूर्ण स्थिति रहेकाले देउवा अहिले यहि विषयमा केन्द्रित भएको विश्लेषण गरिएको मानिन्छ ।

कम्युनिस्ट नेताले मुलुकमा क्रिश्चियनका महागुरुका नाममा कार्यक्रम नै गरेर आतिथ्यता लिने तर मौलिक र सनातनी धर्मलाई भने मास्ने खेल भइरहेको भनी विरोध भएको थियो। तर अब यो मूलधारको मात्र नभएर सत्ता र व्यवस्थासँग जोडिएको अहम् विषय बन्दा पेचिलो स्थितिमा छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्