आजदेखि एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ , यस्ताे छ तयारी

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं - नेकपा एमालेले आजदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्म पदयात्रा गर्दैछ। पदयात्रा सुभारम्भका लागि एमाले अध्यक्षसहितका शीर्ष नेता बैतडी पुगिसेका छन्। बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए।

यसक्रममा एमालेले समृद्धिको आधार तय गर्ने भन्दै ४० ओटा साना ठूला सभा गर्ने भएको छ।

पदयात्रामा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू छन्।

अध्यक्ष ओलीले नेपालको झण्डा झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव विश्वकर्माले बताए। कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसैगरी बैतडीको खोड्पेमा सन्देश सभा आयोजना गरिने छ।

टोलीले डडेल्धुराको उग्रतारा दर्शन गर्ने, १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको छ।

१६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्षसहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ।

झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ।  तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया पनि गर्ने जनाइएकाे छ।

संकल्प यात्रा नाम दिएको सो अभियानमा एमालेले सहभागीहरुलाई १५ बुँदे आचारसंहिता समेत जारी गरेको छ मध्यपहाडी यात्रामा अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुले निजी सुरक्षा गार्ड प्रयोग गर्न नपाउने भएका छन् ।

कार्यकर्ता र जनताको बीचमा यात्रा गरिने भएकोले नेताहरुलाई असुरक्षाका अनुभूति नहुने र व्यवस्थापनको बोझसमेत घट्ने भएकाले निजी सुरक्षाकर्मी यात्रामा लैजान नपाउने विधि बनाइएको छ । मंसिर ६ गतेको केन्द्रीय कमिटीम केन्द्रीय कार्यालयबाट पेश गरिएको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अवधारणा पास गरिएको थियो ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार नेताहरुका सवारी साधनका अतिरिक्त चार ओटा विशेष टिमहरु यात्रामा तय गरिएको छ । जसमा एम्बुलेन्स सहितको मेडिकल टिम, टायर पञ्चरलगायत सवारी साधनमा आउने मेकानिकल समस्या समाधान गर्ने प्राविधिक टिम साथमै हुनेछ ।

यसैगरी प्रचारको टिम र न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चार ओटा गाडीहरु हुनेछन् । लामो यात्रा, कतिपय ठाउँमा साँघुरो बाटो भएको र कोही बिरामी भइहालेको खण्डमा आफैँसँग एम्बुलेन्स हुँदा बिरामीलाई उपचारका लागि लैजान सहज होस् भनेर यसो गरिएको एमालेले जनाएको छ ।

यसैगरी यात्रामा रहेका धेरै गाडीहरु हुने र बीचमा कुनै गाडीमा समस्या आएमा स्थानीय मेकानिक्सलाई बोलाउन समय लाग्ने भएकोले आफ्नो टिममा नै आफैँसँग मेकानिक्स टिम सहभागी गराइने प्रमुख गौतमले जानकारी दिए ।

यात्राका क्रममा केन्द्रीय टोलीमा संलग्न नेताहरुले सवारी साधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्ने भएको छ । यसैगरी यात्रामा निस्कने नेताहरुले आफूले नियमित सेवन गर्ने औषधि, न्याना कपडा, स्लिपिङ ब्याग, ड्राइ फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नु पर्नेछ ।

प्रमुख गौतमका अनुसार यात्राका क्रममा स्थानीयहरुसँगका छोटा भेटघाटमा गुनासो सुनुवाइ गर्ने क्रममा अध्यक्ष ओली, सुरक्षाकर्मी र केही स्वयंसेवक बाहेक अरु नेता तथा कार्यकर्ताहरु गाडीबाट ओर्लन नपाइने भएको छ ।

नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पुर्याउने नपाइने, औपचारिक कार्यक्रममा पनि तोकिएका नेता बाहेक हरुले मञ्चमा भीडभाड गर्न नपाउने विधि तय गरिएको छ । यात्राका क्रममा खानपिन, बोलीचाली, र आचरणमा मर्यादा कायम गर्नुपर्ने, स्थानीय भाषा, संस्कृति, परम्परा र चालचलनको सम्मान गर्नुपर्ने विधि बनाइएको छ ।

पार्टी केन्द्रीय कमिटीमा वितरीत अवधारणा पत्रमा उल्लेख भए अनुसार यात्रामा जानेहरुले जनताको दुःख सुखमा सहभागी हुने र स्थानीय कमिटीले गरेको व्यवस्थापन अनुरुप चल्नुपर्ने छ ।

यात्राको फोटो खिच्न उछिनापाछिन गर्न नपाइने, प्रोटोकलको पालना गर्नुपर्ने विधि केन्द्रीय कमिटीले पास गरेको छ। प्रमुख गौतमका अनुसार यात्रालाई अनुशासित, मर्यादित, मितव्ययी र प्रभावकारी बनाउन यात्रामा सहभागी सबै नेताहरुलाई लागू हुने गरी यो विधि केन्द्रीय कमिटीबाट पास गरिएको हो ।

एमालेले स्थानीयबासीहरुसँग संवाद गर्न ,मध्यहाडका समस्या सुन्न र समाधानको पहल गर्न मंसिर १४ गते २१ दिन लामो मध्यपहाडी यात्रा तय गरेको हो । बैतडीको झुलाघाटबाट शुरु हुने यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुस २ गते समापन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्