राष्ट्रिय कृषि नीति छिट्टै ल्याउँछौँ : मन्त्री भुसाल

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन् ।

राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले केही दिनमा मन्त्रिपरिषद्मा पेस गरिने बताए ।

उनले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताए । साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत दिइने उनको भनाइ छ । उनले कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपका कारण कृषि भूमिको उर्वरा घट्दै गएकामा चिन्ता व्यक्त गरे ।  

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्