विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक छ : उपप्रधानमन्त्री खड्का 

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ–  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखे । “विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ”, उपप्रधानमन्त्री खड्काले भने, “यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ ।”

उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । उनले संसदको आउदो हिउँदे अधिवेशबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए । वर्तमान गठवन्धन  सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उनको भनाइ  थियो ।

उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने उल्लेख गरे ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्