गैरकानुनी एपबाट टिकटक चलाए कारबाही हुने

शुक्रबार, मंसिर १, २०८०

काठमाडाैं- सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन्। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका छन्। केही इन्टरनेटमा टिकटक पूर्णतया बन्द भइसकेको छ।

पछिल्लो समय निकै चर्चामा रहेको टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि सरोकारवाला संस्थाले विरोधसमेत गरेका थिए। तर, विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूले टिकटक बन्द गराउनु सरकारको राम्रो काम भएको बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणले टिकटक बन्द गराउनका लागि पहल सुरु गरिसकेको छ। उनी भन्छन्, ‘सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलार्ई प्राधिकरणबाट निर्देशन दिइएको छ।’

केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको सूचना आएकाले तत्कालै बन्द गर्नुपर्ने उनले बताए। प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्ने इन्टरनेट सेवा प्रदायकमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने उनले बताए।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘गैरकानुनी एपहरू डाउनलोड गरी टिकटक चलाउँदा, व्यक्तिगत विवरणसमेत सुरक्षित हुँदैन। पछिल्लो समय टिकटकमा नराम्रा विषयवस्तु धेरै देखिन थालेपछि अपराधसमेत मौलाएको छ।’

भीपीएन जस्ता अनेक एपले व्यक्तिको मोबाइलमा रहेका सबै डाटामा एक्सेस लिनसक्ने र बैंकिङ एपको सुरक्षामासमेत असर पुर्याउने प्रवक्ता कडायत बताउँछन्। गैरकानुनी रूपमा यस्ता एप चलाउनेहरू प्रति कानुनी कारबाहीसमेत हुनसक्ने कडायतको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्