रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँडिदै

शुक्रबार, कात्तिक २४, २०८०

रुकुम पश्चिम - रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ। सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख वितरण गर्न लागिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ।

सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए । “प्रति मृतकका परिवारलाई दुई लाखका दरले नगद दिइनेछ”, उनले भने । शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बढुवालले बताए । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो । मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ ।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ । जाजरकोटमा भूकम्पबाट एक सय एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्