‘योजनामा तीनै तह समेटिनुपर्छ’

सोमबार, कात्तिक २०, २०८०

मनहरि– राष्ट्रिय योजना आयोगले तयार पार्ने योजनामा सरकारका तीनै तह समेटिनुपर्नेमा जोड दिइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिगो विकासका लक्ष्य हासिल गर्न संविधानको मर्म भावनाअनुसार क्षेत्राधिकारसँग मेल खाने योजना तयार गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगले आज बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेकोे सोह्रौँ योजना आर्थिक वर्ष २०८१/८२–२०८५/८६ तर्जुमा सम्बन्धी प्रारम्भिक मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले परिवर्तित राज्य व्यवस्थाअनुसार नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

प्रदेश अनुसारको योजना नीतिलाई नयाँ ढङ्गले विकास योजना तयार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्कट्टेलले सम्बन्धित प्रदेशको साधनस्रोतलाई उचित परिचालन हुनेगरी तयार गर्नुपर्ने बताए । आवश्यकता पहिचान नगरी योजना तर्जमा गर्दा सोचेजस्तो सफलता हासिल गर्न नसकिने भएकाले त्यसतर्फ उचित ध्यान जानुपर्नेमा उनको जोड थियो । 

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संरचनात्मक रुपान्तरणका लागि प्रस्तावित विषयलाई समेटेर योजना तयार गरिने विश्वास व्यक्त गरे । 

बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने बताए । मस्यौदा माथिको छलफल मङ्गलबार सम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्