कर्णाली प्रदेश

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

शनिबार, कात्तिक १८, २०८०

गलकोट– कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । 

उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । 

बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । 

रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । 

मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्