प्रचण्डले युद्धमा बन्दुक भिराएका पाण्डे आखिर फूलहरूसित रमाइरहेका छन्!

सोमबार, कात्तिक १३, २०८०

धरानचिहानमा फूल मन पराउने देशले मात्र बन्दुक मन पराउँछ भन्ने उक्तिको उल्टो लयमा हिँड्न थालेका छन्, तुलसी पाण्डे।

आखिर फूल नै एउटा खुशीको गति दिने त्यो अस्त्र हो जुन बन्दुकले दिन सक्तैन भन्ने उदाहरणका एक पात्र पनि हुन् उनी।

मुक्तिका लागि माओवादी युद्धमा बन्दुक भिरेका पाण्डेले कुन स्वतन्त्रता हासिल गरेका छन् त्यो फरक विषय भयो तर फूलसित रमाउने उनलाई सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले बन्दुक भिराउन बाध्य पारेका थिए।

उनी पूर्वछापामार हुन्। बन्दुक हेय हो। फूल त्यो माया हो, जसलाई फूल्न दिनुपर्छ भन्ने मानक उनको थितिमा छ।

झण्डै दुई दशकअघिको दैनिकी बन्दुक बोकेर, बन्दुकलाई नै अँगालेर अनि बन्दुककै सिरानी लगाएर बित्थ्यो पाण्डेको। आज त्यही छापामार ब्युँझिने बित्तिकै फूलको स्याहार गर्छ। फूलबारीमा रमाउँछ। फूलको सुवास लिन्छ, आफ्नो आत्मनिर्भरता र परिवारको पालनपोषणका लागि फूलहरूसित हाँस्छ।

पाण्डेलाई भमराको प्रेम मनपर्छ। उसको रसपानमा आनन्द आउँछ।

बन्दुकको कठोरता समाएका हातले कुनै दिन फूलको कोमलता स्पर्श गर्लान् भन्ने सोचेका थिएनन।् जीवनलाई जनताका निम्ति उत्सर्ग गर्न माओवादी जनयुद्धमा होमिएका छापामारको दैनिकी सम्पूर्णरूपले कायापलट भएको छ यतिबेल, धरानका पत्रकार नवराज विष्ट भन्छन्,‘उनको जीवन एउटा कविता हो। काल्पनिक रुपमा लेखिएको उपन्यास जस्तो देखिन्छ। आखिर यो त सत्य हो।

पहिले जनताको मुक्तिका लागि बन्दुक बोकेका स्पेसल टास्क फोर्स (एसटिएफ) सेक्सन कमान्डर पाण्डे अहिले बन्जर जमिनमा आत्मनिर्भरताका लागि फूलसँग रमाउने मात्र होइन, बगैंचाको मालीको जीवन र फूलको बिक्रिमा तल्लिन छन्।

संघर्षका मैदानमा रहेका साथी राजनीतिका कतिपय पहुँचमा पुगे होलान् उनलाई त्यसको हेक्का रहेनछ। आफ्नो शिल्पको एउटा आकार छ, अनि स्वभावको प्रकारमा बाँचेका छन्, पत्रकार विष्ट थप्छन्,‘साँच्चै रोचक छ, उनको कथा।

२०५६ सालदेखि माओवादी जनयुद्धमा समाहित पूर्व एसटिएफ सेक्सन कमान्डर वराहक्षेत्र१ का युवा तुलसी पाण्डेले भन्छन्,‘पार्टी शान्ति प्रक्रियामा आइसकेपछि व्यक्तिगत जीवन निर्वाहका लागि गाह्रोअप्ठेरो होला कि भन्ने ठानेर आत्मनिर्भरताको बाटो अपनाएको हुँ ।

पाण्डेले आत्मनिर्भरताका लागि अघिल्लो वर्ष ५ कठ्ठा जग्गामा व्यावसायिक सयपत्री फूल खेती गरे। अनुभवका लागि लगाइएको फूलखेतीबाट केही हजार रुपैयाँ आम्दानी भएपछि यही पेशालाई निरन्तरता दिए।

गत वर्षदेखि सयपत्री फूलको खेती गरेका उनले यसमा सम्भावना देखेका छन्। चतरा नहरनजिकै रहेको बस्ती बालचन खोरियाबाट उनले सिँचाइको जोहो गरेका छन्। सयपत्री फूलको खेतीसँगै उनले कागती खेती पनि गरेका छन्।

पाण्डेको विगत बडो अचम्मको छ। २०५६ सालमा माओवादीमा छिरेका उनी २०५७ सालबाट छापामार युद्धमा होमिए। सोलुसल्लेरी छैठौं बटालियनबाट २०५८ मा जनमुक्ति सेनामा भर्ती भए। भोजपुरको दोभानेमा तालिम सकेपछि मेचीकोसी क्षेत्रीय कम्पनी गठन भयो। २०५९ मा उनी स्पेसल टास्क फोर्स (एसटिएफ) सेक्सन कमान्डर बने। छैठौं बटालियनबाट सुरु भएको उनको यात्रा बटालियन १८ औं सम्म पुग्यो। पाण्डेले त्यहाँ आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे।

जण्डिस लागेकोले उपचार गर्न मोरङको लेटाङ झरेका उनी उपचार गरेर फर्कंदा मोरङको मुर्चुङी भन्ने स्थानमा २०६० सालमा पक्राउ परे। उनलाई मोरङको बेलबारी ल्याइयो। केही समय इटहरी पृतनामा राखियो। त्यसपछि इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाइयो। इटहरी प्रहरीले उनलाई जेल चलान ग¥यो। विराटनगर कारागारमा पाण्डेले १५ महिना जेल जीवन बिताए।

निहत्था र आधारविहीनलाई पक्राउ गरिएको भन्दै आइसीआरसीको पैरवीमा उनी २०६२ मा जेलमुक्त भए। जेलमुक्त भएपछि पार्टीको नियम निगरानीमा राख्ने थियो।

२०६३ मा उनी वाइसियलको क्षेत्रीय उपाध्यक्ष भए । त्यसपछि उनी जिल्ला कमिटीको सदस्य भए। कोचिला राज्य कमिटीको इञ्चार्ज हरिबोल गजुरेल हुँदा उनी राज्य समिति सदस्य बने।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीका तर्फबाट वराहक्षेत्र१ को वडाध्यक्षको टिकट पाए। सहमतिविपरीत पार्टीमा अबाञ्छित गतिविधि भएको भन्दै उनी १७ महिना निष्क्रिय रहे। हाल नेकपा (माओवादी केन्द्र) को सुनसरी जिल्ला कमिटी सदस्यमा उनलाई पार्टीले निरन्तरता दिएको छ।

राजनीतिको बाटो एकातिर छ। त्यो कठिन मात्र छैन, मौका पाउनका लागि स्वाभिमानलाई धरौटी राख्नुपर्ने अवस्थामा छ। त्यसैले उनले बन्दुकले सोझ्याएको बाटो होइन, पाण्डेले प्रीतले ओतप्रोत गोरेटो समाते। भनिन्छ, निसहि बाटो हेर्यौ भने सारा संसार बगैँचा हो। उनी राजनीतिमा गुरिल्ला हर्कतको मार्गमा होइन, बगैंचामा भमराको गीतमा रमाउने बाटोतिर लागे।

पाण्डेको यो गतिले दिएको मिठो सन्देश पनि छ। उनी ठान्छन्,‘खुशी होस् वा दुख, फूलहरू हाम्रा निरन्तर साथी हुन्छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्